Logo (2)

                                       Inspiring Insight

Blog, Nepali Blog

दशैँमा टिका लगाउने मन्त्र र यसको अर्थ

Share on facebook
Share on twitter
Share on email
Share on whatsapp

SHARE NOW

Dashain Tika

मन्त्र

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे!

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने!!

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते!

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे!!


जयन्ति मङ्गला काली भद्रकाली कपालिनी!

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते!!


विजया दशमीको दिन हरेक नेपालीहरुको घरघरमा उपर्युक्त मन्त्र वाचन गरी शुभ-आशिर्वाद दिने गरिन्छ । हामी मध्ये धेरैले यो मन्त्रलाई मुखाग्र बनाएका पनि छौ भने कतिले भने यसलाई ध्यान दिएर मनन गर्ने फुर्सद पनि जुटाउन सकेका नहौँला ।

हिन्दू धर्मका विभिन्न अनुकरणीय पात्रहरुलाई आधार बनाइ तयार पारिएको यस मन्त्रको तात्पर्य यथार्थमा नै अत्यन्त सुन्दर, विचारणीय एवम् मार्मिक छ ।

दशैँको दिन यो मन्त्रलाई खरर उच्चारण गरी कसैलाई टिका लगाइदिँदा हामी स्वयम् पनि प्रशन्नित भाई गर्वित महशुस गर्छौँ । तर हामीले कत्तिको यो मन्त्रका हरेक शब्दलाई बुझेर एक-आपसमा शुभकामना आदान-प्रदान गरिरहेका छौँ त ?

आउनुहोस् अघी बढौँ।

सर्वप्रथम त, महिलाका लागी पुरुषलाई प्रयोग गरिने मन्त्रका अतिरिक्त केहि फरक मन्त्र पनि उच्चारण गर्ने गरिन्छ ।

पुरुष – महिला दुवैका लागि :

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे!

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने!!

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते!

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे!!

नेपाली अर्थ

टिका लगाउँदा महिला र पुरुष दुवैलाई यो मन्त्र उच्चारण गरी आसिर्वाद दिने गरिन्छ । यो मन्त्रको नेपाली आर्थ के हुन्छ त, तिनलाई हेरौँ ।

आयुर्द्रोणसुते  : यसको अर्थ गुरु द्रोणचारर्यका पुत्र, अर्थात अस्वत्थामाको जस्तो आयु होस् भन्ने हो । स्वयम् शिव भागवानबाट शाश्वत जीवनको वरदान पाएका अस्वत्थामा सप्त चिरन्जिवी मध्य एक हुन् ।आजसम्म पनि उनी जिवित नै छन् भन्ने धर्मिक विश्लेषकहरुको मन्यता छ ।

श्रीयं दशरथे  : यसको अर्थ ‘श्री’ अर्थत ‘लक्ष्मी’ ले दशरथ राजाका घरमा जस्तै सदा बास गरुन् भन्ने हुन्छ ।  यस मन्त्रमा ऐस्वर्य र लक्ष्मीलाई थोरै भिन्न रुपले व्यख्यान गरिएको छ । ऐस्वर्य दान र धर्ममा पनि प्रयोग हुन सक्छ, दुष्कर्ममा पनि प्रयोग हुन सक्छ र रित्तिएर पनि जान सक्छ । तर यदी लक्ष्मी दशरथका घरमाझैँ अटल भएर बसेकिछन भने त्यसले सदा सकरात्मकता र स्थिरता जनाउँछ ।

शत्रुक्षयं राघवे : यो राम भागवान सँग सम्बन्धित छ । रघु कुलामा उत्पन्न भएका कारण भागवान श्री रामलाई राघव पनि भन्ने गरिन्छ । तसर्थ शत्रुक्षयं राघवेको अर्थ राम भागवान जस्तै सत्रुलाई परास्त गर्ने सामर्थ्य रहोस् भन्ने हो ।

ऐश्वर्यं नहुषे : यसको अर्थ राजा नहुषको जस्तो ऐस्वर्य होस् , धनसम्पत्ति होस् भन्ने हो । पृथिवीका चन्द्रवङ्शीय राजा नहुषसँग यती सम्पत्ति थियो कि विश्वरुप र बृत्रासुरको हत्या गरी ब्रम्हहत्या लागेका स्वर्गका राजा ईन्द्र राजगद्धी त्यगी कमलको फूलमा लुक्दा राजशासन सन्चालन गर्न स्वर्गका देवताहरुले राजा नहुषलाई छानेका थिए ताकी पहिल्यै धनसम्पत्तिले भरिपूर्ण उनले स्वर्गको वैभव र विलाशिताबाट भ्रामक भाई पद र सेवासुबिधाको दुरुपायोग नगरुन् ।

गतिश्च पवने : यसको अर्थ पवन अर्थत हावाको जस्तो गति होस् , वेग होस्, शक्ती होस् भन्ने हो । आफ्नो कुनै पनि कर्म सदा द्रुत गतिमा अघी बढोस् , जसरी हावाको वेगमा ठूला ठूला भवन र पर्वतहरु पनि लाचार हुन्छन्, त्यसरिनै ठूला ठूला समस्याहरुलाई समाधान गर्न सक्ने क्षमतको बिकास होस् भन्ने यसको तत्पर्य हो ।

मानं च दुर्योधने : धृतराष्ट्रका सय पुत्र अर्थत कौरभहरुमाझ साहसि, क्रुर्, एवम पराक्रमी जेठा पुत्र दुर्योधनको जुन मान र सम्मान थियो, त्यस्तै प्रतिष्ठा होस् भन्ने यसको अर्थ हो।

दानं सूर्यसुते : यसको अर्थ सुर्यका पुत्र कर्ण जस्तै दानी हुनु भन्ने हो । कर्णलाई दानवीर पनि भनेर चिन्ने गरिन्छ । उनी विशुद्ध मनबाट कुनै पनि हिचकिचाहट वा पस्चाताप नराखी स्वत:स्फूर्त रुपमा दान गर्थे । उनीसँग सुर्यबाट पाएको कवच र कुन्डल थियो र जबसम्म ती कवच र कुन्डल उनिसँग साथ हुन्थे तबसम्म उनको मृत्यु सम्भव थिएन । ईन्द्रले छल गरी बहुनको भेसमा ती कवच र कुन्डल माँग्न आउँदा मसँग छल हुँदैछ भन्ने थाहा हुँदहुँदै पनि उनले दान गरेका थिए, र अन्तत: कुरुक्षेत्रको युद्धमा उनले मृतुवरण गर्नुपरेको थियो । भनिन्छ, मानव भएपछी धन र ऐस्वर्य कमाएर मात्र हुँदैन, शास्त्रका अनुसार आफुले कमाएको १० प्रतिसत त दान गर्नैपर्छ ।

 बलं हलधरे : हलधरे अर्थात भागवान श्रीकृष्णका दाजु बलरामको जस्तो बल होस् , शक्ती होस् भन्ने यसको अर्थ हुन्छ । आफ्नो हलोले जमुनालाई नै वृन्दावनमा ल्याएका भन्ने प्रसङ्ग बोकेका उनको सच्चा नाम शङ्कर्षण भएता पनि अधभूत बल भएका कारण बलराम राखिएको थियो ।

सत्यं च कुन्तीसुते : कुन्तिका जेष्ठ पुत्र महाराज युधिष्टिर जस्तै सत्यवादी हुनु भन्ने यसको तत्पर्य हुन्छ । आफ्नो सम्पूर्ण जीवनकाल भरी युधिष्टिरले मात्र एकपटक अस्वत्थामाको मरणको बिषयलाई लिएर भागवान श्रीकृष्णको आदेशका कारण त्यो पनि घुमाउरो पारामा झुठ बोलेको प्रसङ्ग छ । भागवान श्रीकृष्णले निकै कर गरेपछी उनले भनेका थिए “अस्वत्थामाको त मृत्यु भयो प्रभु, तर मन्छे अस्वत्थामा कि हात्ती अस्वत्थामाचाहिँ मैले जानिन” ।

विज्ञानं विदुरे : यसको अर्थ विदुर, जो पान्डव र कौरभका काका र कुरुक्षेत्रका प्रधानमन्त्री थिए, उनी जस्तै ज्ञानी हुनु, विद्वान हुनु भन्ने हुन्छ । विदुर कहिल्यै कसैलाई छलकपट नगर्ने, व्याहार, विज्ञान र राजनीतिका आसल चेतनाले भरिएका एक ज्ञानी आदर्श पुरुष थिए । स्वयम् भगवान पनि युद्धमा होमिनुभएको समयमा उनले युद्धको कुनै औचित्य नरहेको भन्दै विरोधमा आफ्नो वाणका साथसाथै मन्त्री पद पनि त्यगेका थिए । 

भवन्तु भवतां कीर्तिश्च नारायणे : यसको अर्थ नारायण अर्थात यस सम्पूर्ण ब्र्हमान्डका सर्जक बिष्णु भगवानको जस्तै किर्तिहरु फैलियुन् भन्ने हुन्छ । भगवान नारायणका किर्तिहरुको गुणगाण चार वेद र अठार पुरणै भरी गाइएको छ । त्यसैले तिमी पनि यसरी सिर्जनशील कार्यमा अनवरत रुपमा लाग्नु कि युग-युगान्तर सम्म तिम्रो नाम र सुकर्मका गुणगाण्हरु गाइयून् । 


महिलाका लागि मात्र :

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी!

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते!!

महिलाका लागी मात्र वाचन गरिने यो मन्त्र यथार्थमा माथिको जस्तो कुनै आशिर्वाद नभएर देवीरुपी नारी शक्तिप्रती प्रकट गरिएको एक श्रद्दा हो, नमन हो ।

यसमा देवीहरुको नाम उच्चराण गर्दै हे जयन्ति, हे मङ्गला, हे काली, हे भद्रकाली, हे कपालिनी, हे दुर्गा, हे क्षमा, हे शिवा , हे धात्री, हे स्वाहा र हे स्वधा, तिमीलाई सदा नमस्कार छ, सदा नमन छ भनेर भनिएको छ ।

यसरी दशैँमा टिका लगाउँदा वाचन गरिने मन्त्रको अर्थ आब हामी पहिल्याउन सक्छौ । मन्त्र अत्यन्तै सारगर्भित भएकाकारण सही उच्चारणका साथसाथै अर्थ पनि बुझेर वाचन गर्ने बानीको बिकास गरौँ ।

Share this article on:

Share on facebook
Share on twitter
Share on linkedin
Share on email
Share on whatsapp
गोमा पराजुली

गोमा पराजुली

नेपाली भाषा, साहित्य र सँस्कृतिप्रति विशेष रुची राख्नुहुने गोमा पराजुली बिगत २६ वर्षयता शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

One Response

  1. खोजिरहेको थिएँ यहि कुरा, आज फेला पर्यो। सर्जकप्रति नमन ।❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

More Interesting Blogs